Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

स्वास्थ्य सरोकार================तनाव र मनको स्वास्थ्य


उसको श्रीमान खसेपछि विचरीको मानसिक सन्तुलन गुम्यो । जांचमा फेल भएपछि त्यो मानिस यस्तो विछिप्त भयो । केटीले धोका दिएर अर्कै संग लागेपछि वा एक संग को प्रेम तोडेर अर्को संग विवाहबन्धनमा बाँधिनु पर्दा तिनी यस्ता भए । बाढी पहिरो भुकम्प वा आगलागीमा उठीबास भएपछि उस्तो भयो । द्वन्द्वकालमा द्वन्द्वरत पक्षले यातना र बलत्कार गरेपछि यिनको हाल यस्तो भयो । सासुपक्षले दाइजो वा यस्तै बहानामा दुःख दिएर फलानाको उस्तो भयो । काम गर्ने अफिसमा वा विद्यालयमा कुरा नमिलेर बलियो, हुनेखाने पक्षले निर्बल र निमुखालाई सताउँदा वा अस्वस्थ प्रतिस्पर्धा वा अत्याधिक कामको बोझले उस्तो भयो । कामको कारण सुत्न नपाएको केहि दिनमै उसको व्यवहारमा आमूल परिवर्तन आयो वा बन्दले गर्दा औषधी नपाएर उसको विमारी बल्झ्यो । कलहका कारण औषधी नगराउंदा ढिस्कानाको यस्तो नियति भयो । पढे अनुसार काम नपाउँदा, कमाइ अनुसार परिवारको माग खर्च नमिल्दा र कमाउनेको परिवारले र घर चलाउनेको कामकाजी व्यक्तिले मर्का नबुझ्दा वा एक विषय पढ्छु भन्ने अव्वल दर्जाका सन्तानले अर्को रोज्नु पर्दा वा बृद्ध आमाबालाई सन्तानले छाडिदिंदा विक्षिप्त भयो, आदि आदि ।सूची असिमित हुनसक्छ मानवीय पिडा, दुःख र तनावका अवस्थाहरुको । मानिसको जीवन र समाज समस्या र तनावबाट मुक्त छैन । मानिसलाई आइपर्ने नयाँ परिस्थिति, घटना वा अवस्था व्यक्तिको दृष्टिमा हानिकारक, अनियन्त्रित वा क्षमताभन्दा परको स्थिति जंचेमा त्यस्तो आन्तरिक अवस्थाले तनाव (Stress) को रुप लिन्छ । यस्तो अवस्थाबाट पार लाग्न व्यक्तिलाई ठूलै कसरत र प्रयत्न गर्नुपरेको हुन्छ । शारिरीक, वातावरणीय, सामाजिक वा जीवनमा आइपर्ने मुख्य घटना प्रसंग आदिले तनावको रुप लिएमा व्यक्तिको मन र तन दुवैलाई प्रभावित पारेको हुन्छ । हानि नोक्सानी, सम्बन्धबिच्छेद, मृत्यू, विछोड, जवर्जस्ती, दुर्घटना आदि जस्ता नकारात्मक घटना मात्र हैन कतिपय मानिसलाई विवाह, पदोन्नति, चिड्डा वा सफलता जस्ता सकारात्मक घटना पनि तनाव बन्नसक्छ । तनावमा व्यक्तिले खतराको अनुभव गर्छ, परिस्थितिसंग संघर्ष गर्छ, शारिरीक प्रतिक्रियाहरु उत्पन्न हुन्छन् र लामो समय रहेमा थाक्ने स्थिति पनि आउनसक्छ । तनावले व्यक्तिलाई के कस्तो र कत्तिको असर गर्छ भन्ने कुरा मूल रुपमा तीन तत्वहरुमा निर्भर हुने देखिन्छः १. तनावको मात्रा, गम्भीरता, यसको असरको प्रकृति (पछि सुधार्न, हटाउन वा कम गर्न सकिने नसकिने), २. तनावग्रस्त व्यक्तिको स्वास्थ्य, व्यक्तित्व, स्वभाव, उपलव्ध साधनश्रोत र सहयोग तथा ३. व्यक्तिका लागि उक्त घटना, समस्या वा तनाव विशेषले के अर्थ राख्छ भन्ने कुरा । कुनै तनाव भएपछि व्यक्तिको अस्वस्थकर प्रतिक्रियाले हानिकारक परिणाम ल्याउने गर्छ, स्वस्थ तरीकाले त्यस्ता हानिकारक असर कम गर्न सकिने देखिन्छ । तैपनि कतिपय बेला भने, तनावसंग सम्बन्धित भएर मनका विमारीहरु उत्पन्न हुन्छन् । अति कडा गम्भीर, निरन्तरको लामो, बदल्न नसकिने खालको विशेष गरेर मानवसृजित वा मानवकृत तनाव जसमा भोलि के होला भन्ने निश्चित हुँदैन, त्यस्ता खालका तनावले मानिसलाई गम्भीर प्रभाव पारेको देखिन्छ । तर यसमा व्यक्तिपिच्छे अन्तर हुनेगर्छ, कसैलाई त्यस घटनाले केहि फरक पर्दैन जबकि अर्को व्यक्तिलाई असह्य र हानिकारक भैदिन्छ । संसारमा मानसिक समस्या र यसका पछाडि यसका कारक तत्वहरुमध्ये तनाव र संघर्षको परिस्थिति पनि बढ्दै गइरहेको तथ्य आजको यथार्थता हो । तनावग्रस्त मानिसहरुमा मानसिक समस्याको मार पनि अत्याधिक हुने गर्छ । तनावले मानसिक समस्या उत्पन्न हुनमा पृष्ठभुमि तयार पार्ने, शुरु हुनमा घिउमा आगोको जस्तो, रोग भैसकेको अवस्थामा त्यसको उपचार र नियति कस्तो होला भनी निश्चित गर्नेसम्म भुमिका खेल्छ । यस लेखको शुरुमै उधृत प्रसंगहरुमा यो कुरा छर्लंग देखिन्छ । लगभग सबैखाले मनोरोगहरु प्रतक्ष अप्रतक्ष्य रुपमा तनावसंग सम्बन्धित हुन्छन्, चाहे त्यो मानसिक समस्याको कारणको रुपमा होस् चाहे मानसिक रोग भैसकेपछिको अवस्थामा परिणामको रुपमा होस् । मानसिक समस्याका कारक सामाजिक र मनोवैज्ञानिक तत्वहरु एक हिसाबले तनावकै रुप हुन् । तनावकै सेरोफेरोमा पागलपनको एक रोग (Acute and Transient Psychotic Disorder) र हिस्टेरिया (Conversion and Dissociative Disorder)उत्पन्न हुन्छन् । डिप्रेसन र भावनाका अरु मनोरोग (Depression and other mood disorders)तथा विभिन्न खालका मन आत्तिने रोगहरु (Anxiety Disorders)अत्याधिक रुपमा बढ्छन् । मानिसको व्यक्तित्वका गड्बडीहरु (Personality Disorders) अझ प्रकट हुने मौका पाउंछ तनावको बेलामा । पहिलेका कतिपय मानसिक बिमारीहरु बल्झिने सम्भावना बढ्छ । चुरोट र रक्सी लगायत मद्य तथा लागूपदार्थको सेवनमा वृद्धि भएर दुव्र्यसन (Substance Abuse Disorders) बढ्ने देखिन्छ । तनावग्रस्त मानिसहरुमा शारीरिक रोग विना पनि शारीरिक लक्षणहरुको सिकायत हुने विभिन्न मनोरोगहरु (Somatoform disorders) धेरै उत्पन्न हुन्छन् । यस्तै स्थितिमा कतिपयले आत्महत्या (Suicide)जस्तो कदमसम्म उठाउन पुग्छन् । यसरी मानसिक रोगहरु तनावसंग सम्बन्धित भएपनि तिनका पछाडि यी र जैबिक तत्व सहित अरु धेरै तत्वहरुको हात हुने गर्छ । तनाव प्रष्ट रुपमा हुनैपर्ने भन्ने नहुन पनि सक्छ । तीन खालका मानसिक समस्याहरु भने तनावकै कारण हुने र तिनलाई तनावजनित बिमारीका रुपमा निदान गरिन्छ । ती हुन्ः क. Acute Stress Reaction (तनावप्रतिको अल्पकालीन प्रतिक्रिया), ख. Adjustment Disorder (समायोजनमा गड्बडी) र ग. Post Traumatic Stress Disorder (पीडादायक घटनापटि उत्पन्न हुने मनोरोग) । ........थप जानकारीहरु कमेन्ट बक्सबाट पनि प्राप्त गर्न सक्नुहुनेछ ।

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.